काठमाडौं – हामी एक्ला होइनौं कि क्या हो? — यो शंका अब केवल कल्पनामा सीमित नहुन सक्छ। नयाँ वैज्ञानिक अनुसन्धानले ब्रह्माण्डमा जीवनको अस्तित्वबारेको बहसलाई नयाँ मोडमा ल्याएको छ। वैज्ञानिकहरूले पृथ्वीभन्दा टाढा रहेको के टु–बी १८ नामक ग्रहमा जीवनको सम्भावना देखाउने प्रमाण भेट्टाएका छन्। यो खोज पृथ्वीबाहेक कुनै ग्रहमा जीवन हुनसक्ने सम्भावनालाई अझ मजबुत बनाउने खालको छ। नासाको जेम्स वेब स्पेस टेलिस्कोप (JWST) ले दिएको जानकारीका आधारमा वैज्ञानिकहरूले के टु–बी १८ ग्रहको वायुमण्डलमा यस्ता रासायनिक अणुहरू पत्ता लगाएका छन्, जुन पृथ्वीमा सामान्यतः समुद्री प्लाङ्क्टन र ब्याक्टेरियाबाट उत्पादित हुन्छन्। युकेको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ एस्ट्रोनोमी का प्रोफेसर निक्कु मधुसूदन को नेतृत्वमा गरिएको यो अनुसन्धान हालसम्मको सबैभन्दा बलियो संकेत भएको वैज्ञानिकहरू बताउँछन्।उनले भने, “यो सम्भावित जीवनको अहिलेसम्मको सबैभन्दा ठोस आधार हो। एक-दुई वर्षभित्र हामी यसलाई पुष्टि गर्न सक्षम हुनेछौं।” JWST ले ग्रहको वायुमण्डलमा देखिएको विशेष प्रकाश (स्पेक्ट्रम) विश्लेषण गरेर त्यहाँको रासायनिक संरचना परीक्षण गरेको हो। यस्तै प्रकाशबाट पृथ्वीमा पनि जीवन पत्ता लाग्ने अध्ययन गरिएको थियो। के टु–बी १८ ग्रह पृथ्वीभन्दा साढे दुई गुणा ठूलो छ र पृथ्वीबाट लगभग ७०० ट्रिलियन माइल टाढा अवस्थित छ। यो ग्रह एक सानो रातो सूर्यको परिक्रमा गरिरहेको छ, जसलाई “रेड ड्वार्फ” भनिन्छ। सस्तो विज्ञान कथा फिल्म जस्तो लाग्न सक्छ, तर यो अब खगोल विज्ञानको यथार्थमा आधारित विषय हो। अनुसन्धानकर्ताहरू भन्छन्— “हामी जीवनको सम्भावना भएको संकेतहरू पाउँदैछौं, अब प्रश्न पुष्टि गर्ने मात्र हो।” यो अध्ययनले अन्तरिक्ष अनुसन्धानमा कल्पनाभन्दा प्रमाणको युगमा प्रवेश गरिरहेको देखाउँछ। एलियन जीवनको खोज अब केवल रोचक विषय होइन, गहन वैज्ञानिक परियोजना बनिसकेको छ।