काठमाडौं । साइबर अपराधको बढ्दो जोखिमसँगै अब ठगीको स्वरूप पनि दिनानुदिन परिवर्तन हुँदै गएको छ । पछिल्लो घटनामा काठमाडौं अनामनगर बस्दै आएका एक युवकले केवल एसएमएसमार्फत ४ हजारभन्दा बढी व्यक्तिको इसेवा खाता ह्याक गरी एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कञ्चनपुर कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढाले मोबाइल सन्देशमार्फत लिंक पठाएर प्रयोगकर्ताको निजी डाटा चोरी गरी उनीहरूको ई–वलेटमाथि नियन्त्रण जमाएका थिए । बुढाले हजारौं व्यक्तिलाई ‘द अलर्ट’ र ‘एटी अलर्ट’ नामक फेक एसएमएस पठाएका थिए । सन्देशमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै एक लिंकमा क्लिक गर्न आग्रह गरिएको थियो । उक्त लिंकमार्फत प्रयोगकर्ताको खाता विवरण बुढासम्म पुगेपछि उनले सीधै इसेवा खाताबाट रकम ट्रान्सफर गर्न सफल भए । प्रहरीका अनुसार चोरी गरिएको सम्पूर्ण रकम ‘पशुपति ग्लोबल इनोभेसन प्रालि’ नामक मर्चेन्ट खातामा ट्रान्सफर गरिएको थियो । “यो काम उनले हालैको एक साताको अवधिमा गरेका हुन्,” अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए । अप्रिल महिनाको पहिलो साता ट्रान्जेक्सन स्टेटमेन्ट अध्ययन गर्दा मात्रै एक करोड दुई लाख रुपैयाँ बराबरको रकम चोरी गरिएको पुष्टि भएको प्रहरीको भनाइ छ । प्रहरीले वैशाख २ गते उनलाई कालिमाटीबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको छ । प्रवक्ता जिसीका अनुसार हालसम्म पत्ता लागेका ४ हजार अकाउन्ट ह्याक भए पनि वास्तविक संख्यामा अझै वृद्धि हुन सक्ने सम्भावना छ ।