+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणघाट–बुटवल खण्डमा प्रगति : साना पुल निर्माण सम्पन्न, ठूला पुलमा गति बढ्दै

जनवाच
३ दिन अगाडी

काठमाडौं – पूर्व–पश्चिम राजमार्गको चार लेन विस्तार परियोजनामा समावेश नारायणघाट–बुटवल सडक खण्डको पूर्वी भागले निर्माण प्रगतिमा सकारात्मक संकेत देखाएको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा निर्माण हुने सबै २२ वटा साना पुलहरूको काम सम्पन्न भइसकेको छ भने ठूला पुलहरूमा पनि काम तीव्र पारिएको छ।

सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार, २५ मिटरभन्दा छोटा पुलहरू साना मानिने र तीमध्ये अधिकांशमा सवारीसाधन आवागमन सुरु भइसकेको छ।

यो खण्डमा जम्मा १२ ठूला पुल निर्माण गरिनुपर्नेमा पाँचवटा पुलको निर्माण सकिएको छ। तर राजमार्गसँग जोडिने पहुँच मार्ग अभावका कारण केही पुलमा सवारी सञ्चालन हुन सकेको छैन।

सूचना अधिकारी खनालका अनुसार आगामी असार मसान्तसम्म थप तीन ठूला पुलको निर्माण सकिनेछ। तर चारवटा पुल (जयश्री, बेल्डिहा, गिरुबारी र अरुणखोला) को काममा भने ढिलाइ हुने देखिएको छ। यसको मुख्य कारण विनयी खोलाको पुरानो पुल भत्किएपछि सारा जनशक्ति र उपकरण सोही पुलको निर्माणमा केन्द्रित गर्नु परेको हो।

सडकको ६५ किलोमिटरमध्ये हालसम्म ५२.५ किलोमिटरमा कालोपत्र भइसकेको छ। चोरमारा, दुम्कीवास र दाउन्ने आसपासका क्षेत्र तथा पुलको नजिकको भागमा कालोपत्र बाँकी छ। दाउन्नेको करिब चार किलोमिटर क्षेत्र बाहेक अधिकांश ठाउँमा आगामी वर्षा सुरु हुनु अघि नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।

चीनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड सँग सन् २०१९ मा ठेक्का सम्झौता भई काम सुरु भएको थियो। तर रुख कटान, बिजुलीका पोल स्थानान्तरण, निर्माण सामग्री ढुवानीको जटिलता र कोभिड–१९ का असरजस्ता कारणले गर्दा म्याद तीनपटकसम्म थप गर्नुपरेको छ।

हालको म्याद अनुसार काम आगामी असारसम्म सम्पन्न हुनुपर्नेछ। बाँकी कामको गति हेर्दा लक्ष्य पूरा गर्न चुनौती भने कायमै ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ