काठमाडौं । शिक्षा संस्थामाथि बढ्दो राजनीतिक हस्तक्षेपको संकेतस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमाथि आर्थिक तथा कर छुट फिर्ता गर्ने चेतावनी दिएका छन्। हार्वर्डले ह्वाइट हाउसका निर्देशनहरू अस्वीकार गरेपछि ट्रम्प प्रशासनले यस्तो कठोर कदम चाल्ने संकेत दिएको हो।
ह्वाइट हाउसले हालै हार्वर्ड विश्वविद्यालयसहितका कलेजहरूमाथि प्रशासन, भर्ना प्रक्रिया र यहुदी विरोधी भावना न्यूनीकरणका लागि व्यापक सुधारको माग गर्दै निर्देशन सूची पठाएको थियो। तर हार्वर्डले ती मागहरू शैक्षिक स्वतन्त्रतामाथि हस्तक्षेप भन्दै अस्वीकार गरेको छ।
विश्वविद्यालय प्रशासनले ह्वाइट हाउसको निर्देशनलाई “राजनीतिक नियन्त्रित प्रयास” भन्दै विरोध जनाएको छ। हार्वर्डको भनाइ छ — यस्तो कदमले विश्वविद्यालयको स्वतन्त्र चरित्र गुमाउने खतरा छ।
यसको प्रतिक्रियामा ट्रम्प प्रशासनले विश्वविद्यालयलाई दिइँदै आएको करिब दुई अर्ब अमेरिकी डलर बराबरको सहायता रोकेको छ। यति मात्रै होइन, ट्रम्पले ट्रुथ सोसलमा लेख्दै हार्वर्डको कर छुटसमेत हटाउने चेतावनी दिएका छन्।
उनले लेखेका छन्, “हार्वर्ड अब राजनीतिक संस्था बनेको छ, त्यसैले उसले पनि अरू राजनीतिक इकाइजस्तै कर तिर्नुपर्छ।”