काठमाडौं, ३ वैशाख –गाजामा जारी हिंसात्मक द्वन्द्वको बिचमा इजरायलले गरेको सर्तसहितको युद्धविराम प्रस्तावलाई हमासले अस्वीकार गरेको छ। कारण एउटै—युद्ध अन्त्यको कुनै ग्यारेन्टी छैन।
इजरायलले प्रस्ताव गरेको यो सहमतिअनुसार ६ हप्ता युद्धविरामको सट्टामा हमासले हतियार छोड्नुपर्ने शर्त थियो। तर हमासले सो प्रस्तावलाई “एकतर्फी रणनीति” भन्दै खारेज गरिदिएको बीबीसीले उल्लेख गरेको छ।
“शान्तिका लागि ग्यारेन्टी चाहिएको हो, आत्मसमर्पण होइन,” हमासको प्रष्ट भनाइ आएको छ।
उक्त प्रस्ताव अन्तर्गत हमासले आधा बन्धकहरूलाई रिहा गर्न सहमति जनाइसकेको थियो। तर, इजरायलकातर्फबाट युद्ध अन्त्य, गाजा माथिको आक्रमण रोक्ने वा मुख्य माग सम्बोधन गर्ने कुरा भने प्रस्तावमै थिएन।
यही बिचमा, गाजाको युनिसखानस्थित एक अस्पतालमा इजरायली आक्रमण हुँदा एक सुरक्षागार्डको मृत्यु र ९ जना घाइते भएका छन्। इजरायली सेनाले भने हमासका एक नेता मारिएको दाबी गरेको छ।
संयुक्त राष्ट्र संघले गाजामा बढ्दो मानवीय संकटलाई ‘अत्यन्तै गम्भीर’ भन्दै तत्काल युद्धविरामको आवश्यकता औंल्याएको छ। खाद्यान्न, औषधि र सुरक्षित बासको चरम अभावले गाजाली जनतामाथि युद्धको अतिरिक्त पीडा थपिएको छ।