काठमाडौं, २ वैशाख – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको समय द्रुत र प्रभावकारी सेवा प्रवाहको भएको भन्दै कर्मचारीलाई सुशासन र उत्तरदायित्वप्रति सजग रहन आग्रह गरेका छन्।
नेपाल निजामति कर्मचारी संगठनको मन्त्रालयस्तरीय विभागीय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा मन्त्री दाहालले सरकारको सफलता राजनीतिक नेतृत्व मात्रै होइन, कर्मचारी सेवाको प्रभावकारितामा पनि निर्भर हुने उल्लेख गर्दै, “छिटो, छरितो र निष्ठापूर्ण सेवा नागरिकको अधिकार हो,” भनेका छन्।
उहाँले कर्मचारीहरूको वृत्ति विकास र सुविधालाई सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै, सेवा प्रवाहमा कडाइ र संवेदनशीलता दुवै आवश्यक रहेको बताए। “राज्यले दिएको जिम्मेवारी निभाउन नसके, कुनै पनि योजना स्थायीत्वमा पुग्दैन,” मन्त्री दाहालको भनाइ थियो।
उनका अनुसार अबको विकास राजनीतिक निर्देशन मात्रले सम्भव छैन – प्रशासनिक नेतृत्व र कर्मचारीको सामूहिक प्रयास विना दिगो विकास सोच्न सकिँदैन।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि विकास, सेवा प्रवाह र सुशासनलाई एकसाथ जोड्दै काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको अवसरमा संगठनले प्रकाशित गरेको विभागीय क्यालेन्डर विमोचन गरिएको थियो भने नव-निर्वाचित समितिलाई सम्मान गर्दै बधाई प्रदान गरिएको थियो।
विभागीय समितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहाल सहितका नेताहरूले पनि आफ्ना धारणा राखेका थिए।