काठमाडौं, १ वैशाख — विद्यालय शिक्षा ऐन जारी नगरेको भन्दै लामो समयदेखि दबाब दिँदै आएको नेपाल शिक्षक महासंघले अब आन्दोलनलाई थप कडा बनाउँदै कक्षा १२ को परीक्षा बहिष्कार र विद्यालय बन्दको घोषणा गरेको छ।
महासंघले सोमबार गरेको निर्णय अनुसार, आउँदो ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षामा देशभरका शिक्षक र कर्मचारी सहभागी नहुने भएका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, शिक्षा ऐन जारी नभएसम्म दबाबमूलक कार्यक्रमलाई थप चर्काइनेछ।
“परीक्षामा सहभागी नहुने मात्र होइन, हामीले नयाँ शैक्षिक सत्र सुरु भएको अवस्थामा पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,” सुवेदीले भने।
सरकारले यसैसाता राष्ट्रिय भर्ना अभियानको घोषणा गर्दै नयाँ शैक्षिक सत्रलाई औपचारिक रूपमा अगाडि बढाउने तयारी गरिरहेकै बेला शिक्षकहरूको यस्तो निर्णय आउनु शिक्षा प्रणालीमै ठूलो चुनौतीको सङ्केत हो।
नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि सडक आन्दोलन जारी छ। तर, सरकारले ठोस समाधानको खाका नदिएपछि महासंघले शैक्षिक हड्ताल नै घोषणा गरेको हो। शिक्षा ऐन बिना शिक्षकहरूको पेशागत सुरक्षादेखि सामाजिक स्थान, सेवा सुविधा र सरुवा व्यवस्थापनसम्म अन्योलमा परेको महासंघको भनाइ छ।
शिक्षकहरूको कडा आन्दोलन र परीक्षा बहिष्कारले विद्यार्थी र अभिभावक अन्योलमा परेका छन्। एकातिर परीक्षा नजिकिँदै गर्दा विद्यालय बन्द हुने घोषणा भएको छ भने अर्कातिर नयाँ भर्ना अभियानमा शिक्षकहरूको सहभागी नहुनु शिक्षामा गम्भीर असन्तुलनको संकेत हो।