+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पूर्वराजाको नयाँ वर्ष सन्देश : तीनकुने घटनाप्रति दुःख व्यक्त आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय एकताको जोड

अन्त्यमा राजाले देशमा चलिरहेको राजनीतिक र सामाजिक तनाव अन्त्य गर्न संवाद, सहमति र सहकार्यलाई एक मात्र विकल्पको रूपमा अघि सारेका छन्।

जनवाच
६ दिन अगाडी

काठमाडौं,नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको शुभकामना सन्देश केवल औपचारिक मात्र होइन, हालैका समसामयिक घटनाक्रमप्रति गहिरो प्रतिक्रिया पनि बन्यो। तीनकुनेमा राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि उनले पहिलोपटक सार्वजनिक रुपमा मुख खोलेका छन्।

सन्देशमा शाहले १५ चैतको प्रदर्शनमा भएको हिंसा, आगजनी र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। “यस्तो घटना सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,” उनले भनेका छन्। तर उनले सन्देशमा आन्दोलनको ‘कारण’ वा ‘दावी’बारे सीधो टिप्पणी नगरे पनि नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यहरूलाई सम्मान गर्ने’ विषयमा जोड दिएका छन्।

शाहले सन्देशमा स्पष्ट रुपमा राजसंस्थाको ऐतिहासिक भूमिका र जनताको भावना अनुसारको राज्य संरचना बनाउनु पर्ने धारणा राखेका छन्। “नेपाली जनताको जागरूकता सकारात्मक छ, यसले देशलाई स्थिरता र समृद्धितर्फ लैजानेछ,” भनी उनले आशा व्यक्त गरे।

उनको सन्देशमा राष्ट्रियता, एकता र समृद्धिको मार्गचित्र राजसंस्थाले नै देखाउँदै आएको भन्दै संविधानको मूलभूत धारालाई पुनरावलोकन गर्नुपर्ने संकेत पनि देखिन्छ।

शाहले नेपालको बढ्दो आर्थिक संकट, युवा पलायन, बेरोजगारी र राष्ट्र ऋणको भारप्रति चिन्ता व्यक्त गरे। “अबको आवश्यकता आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु हो,” उनले भने। ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने उनको धारणा छ।

उनले स्वदेशी स्रोत-साधनको प्रयोग र युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था गर्न सरकारलाई सुझाएका छन्।

शाहले वर्तमान शिक्षा, स्वास्थ्य तथा प्रशासनिक प्रणालीहरूमा आधुनिकीकरण र सुधार आवश्यक रहेको स्पष्ट पारेका छन्। प्रविधिको सही प्रयोगले राष्ट्र निर्माणमा टेवा पुर्‍याउने भन्दै भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ