मुम्बई, चैत ३१ –सधैं पर्दामा बोल्ड भूमिकामा देखिने करिना कपुर वास्तविक जीवनमा पनि उतिनै हिम्मतवाली र व्यवहारिक देखिएकी छन्। बलिउड अभिनेता सैफ अली खानमाथि भएको छुरा आक्रमणको घटनामा करिनाले देखाएको सूझबुझ अहिले चर्चा बटुल्दैछ। जनवरी १६ को रात मुम्बईस्थित आफ्नो घरमा सैफ अली खानमाथि एक घुसपैठीले चक्कु प्रहार गर्दा करिनाले सबैभन्दा पहिला आफ्नो छोराहरूको सुरक्षा सुनिश्चित गर्दै सैफलाई तत्काल अस्पताल लैजान आग्रह गरेकी थिइन्। यति भयावह परिस्थितिमा करिनाले लड्नभन्दा पनि “बचाउन” प्राथमिकता दिइन् — जुन एउटा जिम्मेवार जीवनसाथी र आमा हुनको परिचायक हो। करिना त्यस रात करिब १:२० बजे आफ्नी साथी रिया कपुरसँग भेट गरेर फर्केकी थिइन्। केही समयपछि, जब जहाङ्गिरको कोठामा एक अपरिचित चक्कु बोकेर आएको थाहा भयो, उनी तुरुन्त सैफसँगै त्यहाँ पुगिन्। आक्रमणकारीसँग झडपका क्रममा सैफ घाइते भए — घाँटी, ढाड र हातमा चक्कुको चोट लाग्यो। यसबीच करिनाले घरका अन्य सदस्यहरूलाई सचेत पारिन् र छोराहरूलाई लिएर सुरक्षित स्थानमा लगीन्। उनले आफ्नो सास, ससुरा र सेवकहरूलाई समेत सम्हालिन्, र सैफलाई तुरुन्त अस्पताल लैजान निर्देशन दिइन्। यस घटनामा करिनाको चतुराई र विवेकपूर्ण निर्णयले सम्भावित ठूला क्षति टारेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनापछि बान्द्रा प्रहरीले १६१३ पृष्ठ लामो चार्जशीट दायर गरेको छ, जसमा करिनाको बयान पनि समावेश गरिएको छ। आक्रमणकारी मोहम्मद शरीफुल फकिर नाम गरेका बंगलादेशी नागरिक हुन्, जसले लुटपाटको नियतले घरभित्र पसेको खुलेको छ। हाल उनी जेलमा छन्। आतङ्कको त्यो रात सैफ र करिनाले जीवनको एउटा नयाँ यथार्थ चाखेका थिए। पर्दामा रियल हिरो देखिने सैफले लड्ने प्रयास गरे भने, करिनाले संयमता र सूझबुझ देखाउँदै परिवारको ज्यान बचाइन्। करिनाको बयान अनुसार, उनले चिच्याउँदै भनेकी थिइन्, “सबैलाई सुरक्षित बनाउ, अनि तल गएर अस्पताल जाउ।”