वीरगञ्ज, ३० चैत । हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्रालाई लिएर उत्पन्न तनावपछिको झडपले स्थिति उग्र बनेपछि पर्सा जिल्ला प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ। शनिबार साँझ ६:३० बजेदेखि लागू हुने गरी आइतबार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो। जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) अनुसार यो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार छपकैयामा दुई समुदायबीचको विवादले हिंसात्मक रुप लिएपछि शान्ति सुरक्षाका लागि कर्फ्यु आदेश आवश्यक भएको हो। हनुमान जयन्तीको अवसरमा हिन्दू समुदायले आयोजना गरेको शोभायात्रामा केही समूहले आपत्तिजनक व्यवहार देखाएको भन्दै अर्को पक्ष आक्रोशित बनेको थियो। प्रारम्भिक शान्तिपूर्ण देखिएको शोभायात्रा पछि आरोप–प्रत्यारोपसँगै झडपमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर जान थालेको स्थानीय स्रोतले जनाएको छ। प्रशासनले नागरिकहरुलाई कर्फ्यु आदेश पालना गर्न आग्रह गर्दै कर्फ्यु अवधिभर घर बाहिर ननिस्कन, भीडभाड नगर्न र प्रशासनको निर्देशनलाई साथ दिन अनुरोध गरेको छ। सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन् र परिस्थितिलाई नियन्त्रणमा लिन सक्रिय छन्।