काठमाडौँ । राष्ट्रवादी विचारधारामा अडिग रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब फेरि आन्दोलनको मोडमा छ । पार्टीका दुई शीर्ष नेताहरू—वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणाको रिहाइ नहुँदासम्म सडकबाटै दबाब सिर्जना गरिने पार्टी नेताहरूले स्पष्ट गरेका छन् ।
पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाको निवासमा शुक्रबार आयोजित भेटघाट कार्यक्रममा उनले सरकारको रवैयाले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको अपमान गरेको आरोप लगाए ।
‘अभिव्यक्तिको स्वतन्त्रता कुनै पनि नागरिकको मौलिक अधिकार हो,’ पूर्वअध्यक्ष राणाले भने, ‘यो अधिकार प्रयोग गर्दा कसैलाई थुनिनु लोकतन्त्रप्रति अपमान हो, र हामी यो स्वीकार गर्न सक्दैनौं।’
यसै सन्दर्भमा, पार्टी कार्यसम्पादन समितिको चैत्र १६ गते बसेको बैठकले सरकारलाई २४ घण्टाभित्र मिश्र र राणालाई रिहा गर्न आग्रह गर्दै त्यसो नगरे निर्णायक आन्दोलनको घोषणा गर्ने निर्णय गरिसकेको छ ।

पूर्वअध्यक्ष राणाले प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै हिरासतमा रहेका नेताहरूलाई राष्ट्रवादी विचारधारा र अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा उभिएको कारण निशानामा पारिएको बताए ।
उनले भने, ‘देशमा राष्ट्रवादी विचार राख्नेलाई थुन्ने प्रयास सफल हुँदैन, अब पार्टी सडकमा उत्रिन्छ र सशक्त प्रतिकार गर्छ।’
सोही अवसरमा उपस्थित राप्रपाका अन्य नेताहरू—महामन्त्री कुन्ती शाही, प्रवक्ता सगुनसुन्दर लावती, बागमती प्रदेश प्रमुख विक्रम थापा, युवा नेता राजु लोहनी लगायतले देश अब निर्णायक परिवर्तनको मोडमा रहेको र संवैधानिक राजसंस्था तथा हिन्दु अधिराज्यको पुनस्र्थापनाका लागि जनआन्दोलन अपरिहार्य भएको धारणा राखे ।
पार्टीको झण्डा बोकेर आन्दोलनमा होमिन तयार कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति र प्रतिनिधिमण्डलमा केन्द्रीय नेतृत्वदेखि जनवर्गीय संगठनका प्रतिनिधिहरूसम्मको समावेशी सहभागिताले राप्रपा अब निष्क्रिय रहन नचाहने सन्देश दिएको छ ।
