नेपालगञ्ज, चैत २७ – ड्युटी सकेर कार्यालय फर्किँदै गरेका प्रहरी सहायक निरीक्षक (असई) टोपबहादुर बस्नेतको बाँकेमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।
बाँकेको जानकी गाउँपालिका–४, मानपुरमा लु ७८ प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा असई बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले जानकारी दिए।
४५ वर्षीय बस्नेत बर्दिया जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। उनी कोहलपुर नगरपालिका–२, शक्तिनगरका स्थायी बासिन्दा हुन्। नेपालगञ्जबाट कार्यालयतर्फ फर्किने क्रममा दुर्घटना भएको बताइएको छ।
शव परीक्षणका लागि उनको शरीर नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार बस्नेत जिम्मेवार, अनुशासित र कर्मठ अधिकृतका रूपमा परिचित थिए। उनको असामयिक निधनप्रति प्रहरी संगठनमा शोक छाएको छ।