+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

आईपीयू महासभामा सांसद सोबिता गौतमको सन्देश- युवालाई नेतृत्व दिनुहोस्, इतिहास बदलिन्छ

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले तासकन्दमा आयोजित १५० औं अन्तरसंसदीय संघ (IPU) को महासभामा नेपालको प्रतिनिधित्व गर्दै युवा नेतृत्वको महत्वबारे धारिलो सन्देश दिएकी छन्।

“भाँचिएको प्रणालीलाई सुधार गर्न हामी युवा आएका हौं,” सांसद गौतमले सभामा स्पष्ट भनिन्, “अबको पुस्ता दशकौं कुर्न तयार छैन।”

उनले विश्व शान्तिको सन्दर्भमा युवाले महत्वपूर्ण भूमिका खेल्नसक्ने उल्लेख गर्दै युद्ध, हिंसा र विभाजनतर्फ उन्मुख संसारलाई युवाले शान्ति र मानवीयताको बाटो देखाउने विश्वास व्यक्त गरिन्।

“युवालाई नेतृत्वको अवसर दिइयो भने युद्ध पनि इतिहास बन्न सक्छ,” भन्दै गौतमले राजनीतिक निर्णय प्रक्रियामा युवाको पहुँच बढाउन विश्व नेताहरूलाई आह्वान गरिन्।

सभामा उनले भविष्यका पुस्ताका लागि पृथ्वी जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै वातावरण संरक्षणमा पनि युवाको भूमिका निर्णायक हुने धारणा राखिन्।

“हामी युवालाई संसदमा ल्याऔं, नीति निर्माणमा ल्याऔं,” गौतमले जोड दिइन्, “हामीसँग विचार, ऊर्जा र गति छ – जसले आजको विश्व बदल्न सक्छ।”

सम्बोधनको सुरुवातमै उनले आफू बुद्धको जन्मभूमि नेपालबाट प्रतिनिधित्व गरिरहेकी जनाउँदै शान्तिको सन्देश विश्वभर फैलाउने नेपालका युवाको चाहना सुनाइन्।

जनताको आवाजलाई नीति बनाउने र जनताको पीडामा सरकारको सुरक्षा पुग्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताले अब राजनीतिक नेतृत्वमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्ने धारणा दोहोर्याइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ