वासिङ्टन डिसी, चैत २७ – चीन र अमेरिकाबीचको व्यापारिक तनाब फेरि चुलिएको छ। अमेरिकी सामानमा चीनले ८४ प्रतिशतसम्मको उच्च कर लगाउने घोषणा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उद्योगहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन्।
ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो निकै उपयुक्त समय हो।” उनले चीनको पछिल्लो कदमलाई अमेरिकाप्रति लक्षित कठोर नीति भन्दै घरेलु उत्पादन र रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
वास्तवमा, चीनको कदम अमेरिकी निर्णयको प्रतिशोधका रूपमा आएको हो। अमेरिकी सरकारले चिनियाँ सामानमा १०४ प्रतिशतसम्मको आयात कर घोषणा गरेलगत्तै चीनले पनि समान रूपले प्रतिउत्तर दिँदै अमेरिकी वस्तुहरूमा भारी कर लगाउने निर्णय गरेको हो, जुन भोलीदेखि लागू हुँदैछ।
चीनले यतिमात्र होइन, चीनमा रहेका केही प्रमुख अमेरिकी उद्योगहरूलाई ‘शंकास्पद सूची’मा राख्ने निर्णयसमेत सार्वजनिक गरेको छ। यस्तो सूचीमा परेपछि ती कम्पनीहरूलाई नियमन, निगरानी तथा व्यापारिक प्रतिबन्धको खतरा थपिनेछ।
ट्रम्प प्रशासनले आगामी चुनावी रणनीतिमा ‘अमेरिका फिर्ता नीति’ (Bring Jobs Back Home) लाई अझ आक्रामक रूपमा प्रस्तुत गर्ने संकेत यस प्रतिक्रियाबाट देखिएको छ।