काठमाडौं, २४ चैत । विद्यालय शिक्षा विधेयकको माग गर्दै राजधानी केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला समर्थन जनाएका छन्। उनले शिक्षकको आवाज दबिने अवस्था आउँदा संसद्को विशेष अधिवेशनसमेत बोलाएर विधेयक पारित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेवा मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू र आफ्नो पार्टी शिक्षकहरूको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन्। आन्दोलनरत शिक्षकहरूलाई “माग पूरा नहुन्जेल आन्दोलन नछोड्न” आग्रह गर्दै उनले भने, “हामी तपाईंहरूको साथमा छौं। कहिले सिट्ठी बजाउनुहोस्, कहिले जुलुस निकाल्नुहोस्, तपाईंहरूको आवाज बुलन्द राख्नुस्।”
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा जुटेका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिइरहेका छन्। यस्तै आन्दोलनप्रति समर्थन जनाउँदै प्रचण्डले विशेष अधिवेशन बोलाउन पनि पछि नहट्ने स्पष्ट संकेत दिएका छन्।
“यदि आवश्यक पर्यो भने संसद्को विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका जायज माग सम्बोधन गर्छौं,” उनले भने, “आजैदेखि म प्रतिपक्षी दलहरूसँग छलफल सुरु गर्छु।”
सरकारको आलोचना गर्दै, उनले संघीय संसद्को अधिवेशन “हतार-हतारमा अन्त्य गरिएको” भन्दै शिक्षकको आवाज सुन्ने अवसर खोसिएको आरोप समेत लगाए। साथै, उनले सरकारलाई आन्दोलनरत शिक्षकहरूलाई दवावमा नराख्न र उनीहरूका मागप्रति संवेदनशील हुन चेतावनीसमेत दिएका छन्।