+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

रबि लामिछानेको गिरफ्तारीपछि, रास्वपाको प्रहरीको कार्यशैलीप्रति कडा आपत्ति

सभापति लामिछानेको घरभित्रै प्रवेश गरी, त्यो पनि बेडरुमभित्र बसेर पूर्जी तयार पारिएको कार्यप्रति पार्टीले गम्भीर आपत्ति जनाउँदै यो कार्यलाई "विधिको शासनविपरीत र असंवेदनशील" भनेको छ।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, २३ चैत ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको गिरफ्तारीपछि उत्पन्न राजनीतिक चासोको बीचमा रास्वपाले आफूलाई संयमता, कानुनी प्रक्रियाको सम्मान र लोकतान्त्रिक मर्यादामा अडिग राख्ने स्पष्ट सन्देश दिएको छ। शुक्रबार राति भर्चुअल माध्यमबाट बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले चारवटा महत्वपूर्ण निर्णय गर्दै “राज्यले विवेक गुमाए पनि हामीले गुमाउनु हुँदैन” भन्ने भनाइलाई आत्मसात् गरेको देखिएको छ।

पार्टी उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको घोषणा गर्दै रास्वपाले नेतृत्वमा स्पष्टता ल्याएको छ। सभापति लामिछानेले स्वयं यस्तो आग्रह गरेका थिए, जुन निर्णय सचिवालय बैठकले अनुमोदन गरेको हो।

चितवनको भरतपुरमा आज (चैत २३ गते) आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य र शान्तिपूर्ण बनाउन पार्टीले निर्देशन दिएको छ। सम्भावित अशान्ति वा व्यवधानका प्रयासलाई शान्तिपूर्ण प्रतिकार र संयमित ढंगबाट सामना गर्न सबै कार्यकर्तालाई सचेत रहन आह्वान गरिएको छ।

रास्वपाले अदालतको निर्णयलाई “कानुनको एक तहको निर्णय”को रूपमा स्वीकार गर्दै न्यायको अर्को ढोकामा जाने संकेत पनि दिएको छ। लामिछानेले भिडियो सन्देशमार्फत अदालत र संविधानप्रति सम्मानजनक दृष्टिकोण राख्ने बताएअनुसार पार्टीले पनि यही लाइन लिएको छ।

सभापति लामिछानेको घरभित्रै प्रवेश गरी, त्यो पनि बेडरुमभित्र बसेर पूर्जी तयार पारिएको कार्यप्रति पार्टीले गम्भीर आपत्ति जनाउँदै यो कार्यलाई “विधिको शासनविपरीत र असंवेदनशील” भनेको छ। रास्वपाले नागरिकको निजी क्षेत्रको उल्लंघन भएको भन्दै यसको भत्सर्ना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ