काठमाडौं, २१ चैत – नेपाल स्काउटमा देखिएका अनियमितता, अपारदर्शिता र अराजक गतिविधिहरूविरुद्ध उठेको शुद्धीकरण अभियान अन्ततः स्थगित गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको पहलमा निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन प्रक्रिया अघि बढेपछि आन्दोलनरत समूहले अनशन तोडेको हो। लामो समयदेखि संस्थाभित्र सुधारको माग राख्दै आन्दोलनरत अभियानकर्मीहरू मन्त्री चौधरीको प्रत्यक्ष उपस्थितिमा सहमतिमा पुगेका छन्। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र शुद्धीकरण अभियानबीच भएको सहमतिअनुसार निर्देशक भट्टराईमाथि छानबिन गर्न मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा मन्त्रालयका उपसचिव रमा भट्टराई, नेपाल स्काउटका प्रतिनिधि तरुण रञ्जन दत्त, विदुर गिरी र आशिक कार्की सदस्य रहेका छन्। समितिले छानबिन अवधिभरका लागि भट्टराईलाई पदबाट अलग गर्ने निर्णय गरेको छ। साथै, नेपाल स्काउटकै वरिष्ठ कर्मचारीलाई कार्यवाहक निर्देशकको जिम्मेवारी दिने सहमति भएको छ। नेपाल स्काउट शुद्धीकरण अभियानले चैत्र २१ गतेदेखि आन्दोलन स्थगित गर्ने घोषणा गरेको छ। स्काउटलाई मर्यादित संस्था बनाउने उद्देश्य अनुरूप सबै सरोकारवालासँग सहकार्य गर्न आह्वान गरिएको छ।