म्यानमार, २१ चैत – शक्तिशाली भूकम्प गएको पाँच दिनपछि, उद्धार टोलीले एउटा असम्भव जस्तै देखिएको सफलता हात पार्दै एक युवकलाई सकुशल जीवितै उद्धार गरेको छ।
७.७ रेक्टर स्केलको भूकम्पले भत्काएको होटलको भग्नावशेषभित्र २६ वर्षीय होटल कर्मचारी फसेका थिए। स्थानीय प्रशासनका अनुसार मंगलबार दिउँसो करिब ३ बजेबाट सुरु भएको उद्धार प्रयास १२ घन्टापछि बुधबार बिहान ३:३० बजे सफलता प्राप्त भएको हो।
उद्धारकार्यमा म्यानमारको फायर सर्भिस विभाग र टर्कीबाट आएका विशेषज्ञ टोली संलग्न थिए। उद्धार टोलीले उनलाई बाहिर निकाल्दा उपस्थित सबैजना भावुक भएका थिए।