काठमाडौं । नेपाल र थाईल्यान्डबीचको व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
बुधबार बैंककमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र थाई प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यस सहमतिले नेपाल र थाईल्यान्डबीच व्यापार तथा लगानी प्रवद्र्धनका लागि एक व्यवस्थित रूपरेखा तयार गर्नेछ। व्यापार मेला, व्यवसायिक फोरम तथा आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, संयुक्त उद्यमको अवसर पहिचान, औद्योगिक ज्ञान तथा प्रविधि आदानप्रदान, तथा विवाद समाधान प्रणालीलाई मजबुत बनाउन सहकार्य गर्ने समझदारी गरिएको छ।
नेपालका व्यवसायीहरूका लागि थाई बजारमा पहुँच विस्तार गर्ने अवसर प्रदान गर्नुका साथै थाई लगानीकर्ताहरूलाई नेपालको सम्भावित उद्योग तथा पूर्वाधार क्षेत्रमा आकर्षित गर्ने लक्ष्य राखिएको छ। महासंघका अध्यक्ष ढकालका अनुसार यो समझदारीले दुई देशबीचको आर्थिक सम्बन्धलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनेछ।
बिमस्टेक शिखर सम्मेलनको अवसर पारेर सम्पन्न यो समझदारी तीन वर्षसम्म लागू हुनेछ।