काठमाडौं, चैत २१ – नेपालमा शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा सुधार गर्ने उद्देश्यले भारत सरकारको सहयोगमा १० नयाँ उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन हुने भएको छ। यसका लागि काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य परियोजना कार्यान्वयन एजेन्सीहरूबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। ६२ करोडको लगानी, स्थानीय निकायमार्फत कार्यान्वयनयी परियोजनाहरू भारत सरकारको रु. ६२ करोड पाँच लाखको अनुदानमा सञ्चालन हुनेछन्। परियोजनाहरू महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ। सन् २००३ यता भारतले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिसकेको छ। यसमध्ये ४९५ परियोजना पूरा भइसकेका छन् भने बाँकी विभिन्न चरणमा छन्। यी परियोजनाहरूले सडक, पुल, सिँचाइ, खानेपानी, विद्युतीकरण, समाज कल्याण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।