+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बजेट निर्माणमा यथार्थपरक नीति आवश्यक : अर्थमन्त्री पौडेल

आगामी बजेटले रोजगारी सिर्जना, उत्पादन वृद्धिमा योगदान दिने र लोकप्रियताका लागि मात्र बनाइने योजनाहरूलाई कटौती गर्ने संकेत देखिएको छ।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १९ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणमा लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन्।

आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीका क्रममा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरणमुखी योजनाभन्दा व्यवहारिक र कार्यान्वयनयोग्य कार्यक्रम आवश्यक रहेको स्पष्ट गरे।

अर्थमन्त्री पौडेलले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, केवल वितरणमुखी योजनाले दीर्घकालीन रूपमा सकारात्मक असर पार्न नसक्ने उल्लेख गरे। उनले सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरूको गम्भीर समीक्षा गर्नुपर्ने औंल्याउँदै, विभिन्न मन्त्रालय तथा निकायका योजनालाई एकीकृत गरी प्रभावकारी बनाउने आवश्यकता रहेको बताए।

श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्स व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीपलाई सदुपयोग गर्दै आन्तरिक रोजगारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनरावलोकन गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे भने, अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकतामा राखी नीतिगत योजना बनाइनु पर्ने बताए।

नेपालको आर्थिक तथा सामाजिक संरचनालाई सबल बनाउन दिगो नीति निर्माण आवश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ