काठमाडौं चैत १९ – डोटीमा चालु जीपबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति सोही जीपका धनी रहेको खुलेको छ।
दिपायलबाट आदर्श गाउँपालिकातर्फ गइरहेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जीपबाट खसेर ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको ज्यान गएको हो। सिलगढी नगरपालिका-१ को तिखामा बोहरा जीपको पछाडिको भागमा बसेका थिए। यात्रा क्रममा उनले सन्तुलन गुमाउँदा सडकमा खस्दा गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका बोहरालाई तत्काल शैलेश्वरी अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।
घटनापछि जीपका चालक २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। भट्ट आदर्श गाउँपालिका–३ नुवाकोटका बासिन्दा हुन्।