काठमाडौं । अवैध आप्रवासन र मानव तस्करी रोक्न बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । सोमबारदेखि सुरु हुने यो सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
बेलायती प्रधानमन्त्री किएर स्टार्मरले सम्मेलनमा मानव तस्करी गर्ने आपराधिक गिरोहहरू रोक्नका लागि राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको विषयमा विशेष जोड दिनेछन् । साथै, अवैध आप्रवासन समस्याको दीर्घकालीन समाधान खोज्नका लागि ठोस रणनीति बनाउने प्रयास गरिनेछ ।
यो सम्मेलन आप्रवासन नियन्त्रण सम्बन्धी बेलायतमा आयोजना भएको पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रम हो । बेलायत सरकारका अनुसार, मानव तस्करी नियन्त्रण तथा आप्रवासन व्यवस्थापन सुधार गर्न ३३ मिलियन पाउन्ड बजेट विनियोजन गरिएको छ ।
बेलायतमा अवैध आप्रवासन प्रमुख राजनीतिक मुद्दा बनेको छ । विपक्षी कन्जरभेटिभ पार्टी र रिफर्म यूकेले सत्तारूढ लेबर पार्टीलाई यस समस्याको समाधान गर्न असक्षम रहेको आरोप लगाएका छन् ।
सम्मेलनमा आप्रवासन समस्याबाट प्रभावित भियतनाम, अल्बानिया, इराक लगायतका देशका अधिकारीहरू सहभागी हुँदैछन् । त्यस्तै, फ्रान्स, चीन र अमेरिकाका प्रतिनिधिहरूले पनि सम्मेलनमा उपस्थिति जनाउनेछन् ।