काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा संलग्न पियोर इनर्जी कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि चैत २८ गतेदेखि खुल्ने भएको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट भइसकेको छ । अब सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर उपलब्ध हुनेछ ।
न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार अनलाइन प्रणाली ‘मेरोसेयर’ मार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ ।
कस्तो छ पियोर इनर्जी ?
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १०-१० मेगावाट क्षमताका दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ, जसले २०८० सालदेखि नै व्यवसायिक उत्पादन गरिरहेका छन् ।
हालसम्म २० मेगावाट क्षमतासहित पियोर इनर्जी नेपालकै सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी बनेको छ । यसको आयोजना ४३ विगाहा क्षेत्रफलमा फैलिएको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा छ, तर प्रतिसेयर आम्दानी (EPS) भने ३८ पैसा मात्रै रहेको छ । अझै पनि कम्पनी सञ्चित नोक्सानीमा रहेको देखिन्छ । पुस मसान्तसम्म कम्पनीको कुल सञ्चित नोक्सानी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट ‘BB+’ रेटिङ पाएको छ, जसले मध्यमस्तरको जोखिम जनाउँछ । कम्पनीको अध्यक्ष अक्षय गोल्याण हुन्, जसले ६४ प्रतिशत सेयर होल्ड गरेका छन् भने प्रवीण अर्याल कम्पनीका सीईओ हुन् ।
पियोर इनर्जीको आईपीओमा लगानी गर्दा जोखिमको मूल्यांकन गर्न जरुरी छ । कम्पनीले राम्रो सम्भावना देखाए पनि हाल नाफामा पुग्न सकेको छैन ।