काठमाडौं । तीनकुनेमा राजसंस्था पुनःस्थापनाको आन्दोलन हिंसात्मक मोड लिएपछि सरकारले दोषी पहिचान गरी कारबाही अघि बढाउने नीति अख्तियार गरेको छ। शुक्रबारको घटनापछि उच्चस्तरीय अनुसन्धान सुरु गरिएको छ भने दोषी ठहरिए कडा सजाय हुने सरकारको स्पष्ट सन्देश छ।
घटनामा पत्रकार सुरेश रजत र राप्रपाका कार्यकर्ता सविन महर्जनको ज्यान गएपछि सरकारको ध्यान दोषी पहिचान र निष्पक्ष अनुसन्धानतर्फ केन्द्रित भएको छ। सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, उग्र प्रदर्शनलगायतका गतिविधिले आम नागरिकको सुरक्षामा खतरा बढाएको भन्दै सरकारले कडा कदम चालेको हो।
काठमाडौं जिल्ला अदालतले आइतबार ४१ जनाविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। तीमध्ये राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई राज्यविरुद्धको अपराध अन्तर्गत अनुसन्धान गर्न आदेश दिइएको छ। बाँकी ३० जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान थालिएको छ।
प्रहरीका अनुसार आन्दोलनका मुख्य योजनाकारमध्येका एक दुर्गा प्रसाईं फरार छन्। उनीविरुद्ध राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्दा दर्ता गर्न प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, सरकारले भविष्यमा यस्ता हिंसात्मक आन्दोलन रोक्न थप कडा नीति अपनाउने संकेत गरेको छ। गृह मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार कानुनी कारबाहीका लागि आवश्यक कदम चाल्ने तयारी भइरहेको छ।