सिरहाको मिर्चैया क्षेत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार साँझ अवैध रुपमा सञ्चालन भइरहेका १४ वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका छन्। अनुगमनको क्रममा १३ अस्पताल बन्द गरिएका छन् भने २ जना कर्मचारी पक्राउ परेका छन्।
मुख्यमन्त्री सिंहका अनुसार, बन्द गरिएका अस्पतालहरूमा सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, समित माउन्ट हस्पिटल र एसजेके पोलिक्लिनिक जस्ता नामहरू रहेका छन्, जसका अधिकांश दर्ता छैन वा नवीकरण नभएको बताइएको छ।

यसैगरी, मापदण्ड उल्लंघन गर्दै सञ्चालनमा रहेको मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने सुधारात्मक अवधि दिइएको छ। अस्पतालले १५ बेडको स्वीकृति पाए पनि अवैध रूपमा अधिक बेड र सेवाहरू सञ्चालन गर्दै आएको पाइएको छ।
मुख्यमन्त्री सिंहको अनुगमन टोलीले २ जना कर्मचारीलाई पक्राउ गरेको छ, जसले अस्पतालमा बिरामी भर्ना गरेपछि अनुगमन टोलीको आगमनसँगै भाग्न प्रयास गरेका थिए। त्यसैगरी, मिर्चैयास्थित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखानामा पनि छानबिन गरिएको छ र खानेकुरा बनाउनमा अखाद्य वस्तुहरूको प्रयोग भएको देखिएपछि कारखाना सिल गरिएको छ।
