रोल्पा – ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको मुरुले लेकलाई चुनढुंगा खानीको अवैध उत्खननले संकटमा पार्दै आएको स्थानीयको गुनासोपछि अन्ततः उत्खनन कार्य रोकिएको छ। तर, यसअघि पनि रोकिएको उत्खनन पुनः सुरु भएको इतिहास भएकाले स्थानीयहरू फेरि दोहोरिन सक्ने घटनाप्रति सचेत छन्।
रुन्टिगढी गाउँपालिका–६ स्थित खारामा सम्राट सिमेन्ट प्रालिले आवश्यक मापदण्ड र सहमति बेवास्ता गर्दै वर्षौंदेखि अवैध रूपमा उत्खनन गरिरहेको थियो। यसविरुद्ध स्थानीयहरू ६ वर्षदेखि आन्दोलनरत छन्।
शुभम् खनिज उद्योगले मुरुले लेक क्षेत्रलाई बचाउनुपर्ने भन्दै स्थानीयहरूसँग विभिन्न सम्झौता गर्यो। २०७६ सालमा उद्योग र स्थानीयबीच विद्यालय भवन निर्माण, शिक्षक तलब, एम्बुलेन्स सेवा, वन संरक्षण, सडक निर्माण लगायतका प्रतिबद्धता गरिएको १४ बुँदे सहमति भयो। तर, सम्झौताअनुसार उद्योगले कुनै पनि प्रतिबद्धता पूरा गरेन।
सम्झौताअनुसार मन्दिर नजिकैको तिम्ला गैरामा मात्र उत्खनन गर्न पाउने भए पनि कम्पनीले अनुमति क्षेत्रभन्दा बाहिर इस्लावाङबाट चुनढुंगा निकालेर सम्राट सिमेन्टलाई आपूर्ति गरिरहेको पाइएपछि स्थानीयहरू आक्रोशित भए।
स्थानीयको दबाब र गुनासोसहित खानी तथा भूगर्भ विभागमा उजुरी परेपछि चैत्र ७ गतेबाट उत्खनन रोकिएको छ। विभागले अनुमति उल्लंघन गरेको भन्दै शुभम् खनिज उद्योगलाई डेढ करोड रुपैयाँभन्दा बढी जरिवाना समेत गरिसकेको छ।
तर, यसअघि पनि कारबाही भएर उत्खनन पुनः सुरु भएकाले यसपटक स्थायी रूपमा रोक्ने रणनीति बनाउनुपर्ने स्थानीयको माग छ।
‘मुरुले लेक बचाउ संघर्ष समिति’ का अध्यक्ष केशवराज चन्दका अनुसार यदि उत्खनन नरोकिए पानीका मुहान सुक्ने, जैविक विविधता नष्ट हुने, धार्मिक स्थलहरू जोखिममा पर्ने, र वातावरणीय असर गहिरो पार्ने खतरा छ।
स्थानीयहरूलाई प्रभावित पारेर जबरजस्ती उत्खनन गराउने उद्योगलाई अब कुनै हालतमा यहाँ काम गर्न नदिनुपर्ने उनीहरूको अडान छ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नेपालीले स्थानीयको मागको सम्बोधन गर्दै छिट्टै फिल्ड अनुगमन गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।