+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ वर्ष र विस्काः जात्राको उल्लास भक्तपुर महोत्सवमा हुने

जनवाच
३ हप्ता अगाडी

भक्तपुर, चैत १६ – नयाँ वर्ष २०८२ को स्वागत तथा भक्तपुरको ऐतिहासिक विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव–२०८२ आयोजना हुने भएको छ।

भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा चैत २८ देखि वैशाख ७ गतेसम्म चल्ने महोत्सवलाई औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्ने भएको हो। आयोजकका अनुसार ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको संगम रहनेछ।

महोत्सवका अध्यक्ष सन्दीप महतका अनुसार दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता तथा हस्तकलाका सामानहरू महोत्सवमा उपलब्ध हुनेछन्।

महोत्सवमा औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल तथा आधुनिक कृषि उपकरणको प्रदर्शनी समेत गरिनेछ। साथै, मोबाइल, इलेक्ट्रोनिक्स सामानको व्यापार तथा बिक्रीका लागि छुट्टै स्टलको व्यवस्था गरिएको छ।

महोत्सवमा साना बालबालिकाहरूका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नौका यात्रा, विभिन्न खेलौना पार्क, रोटे पिङ, रेन्जर र मारुती सर्कस समेत सञ्चालन गरिने संयोजक दीपक थापाले जानकारी दिए।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय परिकार महोत्सव राखिएको छ भने हास्यव्यङ्ग्य, फेसन शो, नृत्य प्रतियोगिता र राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन्।

संस्थाका कोषाध्यक्ष प्रीतम मल्लका अनुसार मेलामा २०% देखि ५०% सम्म छुटमा सामान बिक्री गरिनेछ। महोत्सवमा १५० स्टल रहनेछ भने करिब पाँच लाख भन्दा बढी दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ।

प्रवेश शुल्क रु ५० र रु ८० तोकिएको छ भने विद्यार्थीलाई ५०% छुट र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

महोत्सवकै अवसरमा वैशाख १३ गते चर्चित गायक–गायिकाहरूको सहभागितामा ‘भक्तपुर सांगीतिक साँझ–२०८२’ आयोजना गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ