काठमाडौं, चैत १६ – प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शान्ति-सुरक्षा मजबुत बनाउँदै आपराधिक गतिविधिहरूलाई निर्मूल पार्न नेपाल प्रहरी अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्।
शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित निर्देशनात्मक कार्यक्रममा आईजीपी थापाले समाजमा अपराध र अराजकताविरुद्ध कठोर नीति अपनाइने स्पष्ट पारे। उनले अवैध हतियार ओसारपसार, विष्फोटक पदार्थको तस्करी, गुण्डागर्दी र संगठित अपराध नियन्त्रणमा प्रहरी कुनै पनि हालतमा पछि नहट्ने बताए।
आईजीपी थापाले प्रहरीलाई सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अपराध न्यूनीकरणमा सक्रियता देखाउन निर्देशन दिए। उनले भने, “प्रहरी नागरिकका समस्या समाधान गर्न सजग रहनुपर्छ। सीमित स्रोतसाधन भए पनि उच्च मनोबलका साथ कानुन कार्यान्वयन गर्नुपर्छ।”
आईजीपी थापाले सम्पूर्ण सुरक्षा संयन्त्रहरूबीच समन्वय गरी सुरक्षा योजना लागू गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी संगठनभित्र सूचना संकलन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै, अपराध रोकथामका लागि सुराकी सञ्जाल बलियो पार्नुपर्ने बताए।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू, प्रदेश प्रहरी प्रमुखहरू, जिल्ला प्रहरी प्रमुखहरू तथा ट्राफिक व्यवस्थापनसहितका सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो।