+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

देश अँध्यारो युगमा फर्किदैन, प्रगतिको बाटो अघि बढ्छ” – मन्त्री दाहाल

मन्त्री दाहालले अहिलेको समयमा अराजकता र हिंसात्मक आन्दोलनले होइन, सुशासन र विकासले देशलाई समृद्धिको दिशामा अघि बढाउने धारणा राखे। शहीदहरूले देखाएको बाटो पछ्याउँदै नागरिकले लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उनको भनाइ छ।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, चैत १६ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशले विगतका कठिन दिनहरू पार गरिसकेको र अब अँध्यारो युगमा फर्किन नसक्ने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित सुखानी शहीद स्मृति प्रतिष्ठानको २०औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै मन्त्री दाहालले शहीदहरूको बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र जनअधिकारलाई कसैले खोस्न नसक्ने बताएका हुन्।

मन्त्री दाहालले केही तत्वहरूले गणतन्त्रले केही दिएन भन्ने गलत प्रचार गर्दै नागरिकलाई निराश पार्न खोजेको आरोप लगाए। उनले भने, “शहीदहरूको बलिदानबाट प्राप्त गणतन्त्र र नागरिक अधिकार रक्षा गर्नु सबैको कर्तव्य हो।” गणतन्त्रपछिको समयमा विकास निर्माणले गति लिएको र नागरिकहरू अझ अधिकारसम्पन्न भएको उनले दाबी गरे।

साधारणसभामा सहभागीहरूले २०२९ साल फागुन २१ गते झापाको किसान आन्दोलनका पाँच नेता रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन शासकले गोलि हानी हत्या गरेको घटना स्मरण गर्दै शहीदहरूको योगदानबारे चर्चा गरे। प्रतिष्ठानले झापाको सालवारीमा सुखानी पार्क निर्माण गर्नुका साथै शहादत स्थलको संरक्षण गर्दै आएको जनाइएको छ।

साधारणसभाले अर्जुन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा उपाध्यक्ष टंक बराल, महासचिव लोकनाथ सुवेदी, सचिव अर्जुनकुमार भट्टराई, कोषाध्यक्ष सुन्दरमणि सुवेदी चयन भएका छन्। सदस्यहरूमा डा. गेहनाथ पौडेल, विष्णु घिमिरे, कवि पाठक, जानुका सिटौला, बिर्ख प्रधान र बाबुराम घिमिरे रहेका छन्। केही पद पछि थप गरिने जनाइएको छ।

साधारणसभामा मन्त्री देवेन्द्र दाहाल, संघीय संसदका सचिव हर्कराज राई र गैह्रसरकारी संस्था महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईलाई विशेष सम्मान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ