काठमाडौं – कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागीको चपेटामा कार्यालयको मुख्य भवन परेको छ भने छेउमै रहेको ‘सञ्चो’ उत्पादन हुने भवनसमेत जोखिममा रहेको छ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार स्टोरमा प्रज्ज्वलनशील पदार्थहरू रहेकोले आगो थप फैलिने खतरा बढेको छ। “भवनमा २५ टन तेल छ, आगो नियन्त्रणमा नलिए ठूलो विस्फोट हुनसक्छ, जसले जडीबुटी क्षेत्रलाई नै तहसनहस पार्न सक्छ,” उनले चिन्ता व्यक्त गरिन्।
उता, प्रदर्शनकारीहरूले कम्पनी परिसरमा पार्किङ गरिएका आधा दर्जनभन्दा बढी गाडीमा आगो लगाएका छन्। “हामी काम गरिरहेका थियौं, अचानक बाहिरबाट ढुंगामुढा हुन थाल्यो, सिसा फुटाउन थालेपछि ज्यान जोगाउन भाग्नुपर्यो,” यादवले बताइन्।
घटनापछि पनि आगो निभाउन तत्काल कुनै पहल नभएको गुनासो उठेको छ। यस्तै, स्थानीय प्रशासनले उपत्यकाको सुरक्षामा कडाइ गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि थप कदम चाल्ने संकेत गरेको छ।