काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको प्रवर्द्धन गर्दै, सिटिटेक ग्रुप प्रालिले आफ्नो नवीनतम ‘एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर’ (गेटपे) लाई सफलतापूर्वक माछापुच्छ्रे बैंकमा लागू गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा गरिएको यो पहलले व्यापारिक संस्थाहरूको कारोबार व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल बनाउने अपेक्षा गरिएको छ।
गेटपे सफ्टवेयरले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली उपलब्ध गराएर कारोबारलाई छरितो बनाउने लक्ष्य राखेको छ। यसको प्रयोगले व्यापारीहरूले आफ्नो सबै भुक्तानी गतिविधि एउटै प्लेटफर्ममा व्यवस्थापन गर्न सक्नेछन्, जसले समय र लागत दुवै बचत गर्नेछ।
सिटिटेकका अनुसार, गेटपे सेवा प्रयोग गर्दा व्यवसायहरूले आफ्नो भुक्तानी, हिसाब र आर्थिक गतिविधिहरू एकै ठाउँबाट निगरानी गर्न सक्नेछन्। यसले डिजिटल भुक्तानी अनुभवलाई अझ प्रभावकारी बनाउनेछ।
सिटिटेक ग्रुपले यसअघि पनि फिन-प्रो र फिन-पस जस्ता अत्याधुनिक सफ्टवेयरहरू सार्वजनिक गरिसकेको छ। कम्पनीले डिजिटल भुक्तानीको क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित गेटपे सञ्चालनमा ल्याएको हो।
सिटिटेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साजन शर्माका अनुसार, गेटपेले नेपाली बैंकिङ तथा वित्तीय प्रणालीलाई डिजिटल युगतर्फ अघि बढाउनेछ। उनले भने, ‘हामीले नेपाली बैंकहरूको एकीकृत भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने नवीनतम प्रविधि प्रदान गरेका छौं। आगामी दिनमा डिजिटल कारोबारलाई थप सरल, सहज र प्रभावकारी बनाउन निरन्तर योगदान दिनेछौं।’