काठमाडौँ, चैत १३ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि एफपीओ (फलोअन पब्लिक अफरिङ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले चैत २१ देखि २६ सम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ५१ हजार २९२ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।
सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार, कुनै पनि वित्तीय संस्थाले न्यूनतम ३० प्रतिशतदेखि अधिकतम ४९ प्रतिशतसम्मको सेयर सर्वसाधारणलाई जारी गर्नुपर्छ ।
विन नेपाल लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । हाल कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ऋणात्मक ३१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ २३ पैसा रहेको छ ।
तर, बजारमा यसको सेयर मूल्य भने प्रतिकित्ता २ हजार ९०२ रुपैयाँमा कारोबार भइरहेको छ । लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था मूल्यांकन गर्दै एफपीओमा आवेदन दिने निर्णय गर्नुपर्ने देखिन्छ ।