काठमाडौं, चैत १२ – चालु आर्थिक वर्षको पूँजीगत खर्चको गति तीव्र बनाउन अर्थ मन्त्रालयले विभिन्न विषयगत मन्त्रालयहरूसँग छलफल अघि बढाएको छ। चालू आर्थिक वर्षमा हालसम्म ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ मात्र खर्च भइसकेको छ, जसलाई प्रभावकारी बनाउँदै वर्षको अन्त्यसम्म खर्च वृद्धि गर्ने रणनीति अपनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन्।
छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले विषयगत मन्त्रालयहरूलाई खर्च वृद्धिमा प्रो-एक्टिभ भएर लाग्न निर्देशन दिए।
“अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन र सहजीकरण गरिरहेको छ। तर, परिणाम ल्याउने दायित्व विषयगत मन्त्रालयहरूको हो। खर्चको गति बढाउन सबै मन्त्रालयहरू जिम्मेवार बन्नुपर्छ,” उनले भने।
बजेट निर्माण, विनियोजन, र प्रभावकारी कार्यान्वयनमा कुशलता आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले समयमै योजनाहरू कार्यान्वयन गर्न जोड दिए।
अर्थ सचिव घनश्याम उपाध्यायले बजेट खर्च गर्ने क्षमताअनुसार नै आगामी वर्षका योजना ल्याउन मन्त्रालयहरूलाई सुझाव दिए।
छलफलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सीमितता (सिलिङ) को गुनासो गर्ने तर खर्च नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे।
अर्थ मन्त्रालयले समयमै खर्च गर्न नसक्ने बजेट सरेन्डर गर्न निर्देशन दिएको छ, ताकि स्रोतको उचित व्यवस्थापन हुन सकोस्।
छलफलमा सहभागी मन्त्रालयका सचिवहरूले कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको र पूँजीगत खर्च वृद्धि गर्न समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे।