नेपालको रोजगारी बजारमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित काठमाडौं टेक्निकल स्कुल (केटीएस) सञ्चालनमा आएको छ। आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा स्थापना भएको यो स्कुलले व्यवसायिक तथा प्राविधिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले काठमाडौंको धुम्बाराहीस्थित स्कुलको औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले नेपालमा बेरोजगारी समस्या समाधान गर्न सीपमूलक शिक्षा अत्यावश्यक रहेको भन्दै सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो।
काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत ३६ भन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्नेछ। यस संस्थाले आगामी दशकभरमा १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार यो स्कुलले नेपाली युवाहरुलाई स्वरोजगारमुखी बनाउनुका साथै अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउनेछ।
“नेपालमा प्राविधिक शिक्षामा नयाँ क्रान्ति ल्याउने उद्देश्यसहित यो स्कुल स्थापना गरिएको हो। सीपमूलक तालिमले मात्रै देशभित्रै रोजगारी सिर्जना गर्न सक्छ,” अध्यक्ष ढकालले भन्नुभयो। उहाँले विदेशिने युवा जनशक्तिलाई उच्चस्तरीय तालिम दिएर राम्रो रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य रहेको समेत बताउनुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले दक्ष जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो।
“स्वदेशमै रोजगारी सिर्जना गर्न सीप विकास नै प्रमुख उपाय हो। नेपाल सरकार यस प्रकारका प्राविधिक स्कुलहरुको स्थापनालाई प्रोत्साहन गर्न तयार छ,” मन्त्री भण्डारीले भन्नुभयो।
कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारी, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्रका अग्रज व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।