+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण अपरिहार्य : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले लोकतन्त्रलाई मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरकारी संयन्त्रको साझा प्रयास आवश्यक रहेको बताउँदै समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

जनवाच
३ हप्ता अगाडी

११ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा संविधानबाहिरका कुनै पनि निरंकुशता वा अराजकता स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र, संघीयता र गणतन्त्र नेपाली जनताले ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त गरेको उल्लेख गरे। उनले विगतका जहानीयाँ शासन व्यवस्थालाई अस्वीकार गर्दै जनताले प्राप्त गरेको यो उपलब्धिलाई थप मजबुत बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए।

राष्ट्रपति पौडेलले १०४ वर्षे जहानीयाँ राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था वा सक्रिय राजतन्त्र कुनै पनि नेपाली जनताले स्वीकृत नगरेको उल्लेख गरे। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो संघर्षबाट प्राप्त उपलब्धि हो। यसलाई सुदृढ गर्दै देशको विकासमा केन्द्रित हुनुपर्छ।’

देशको युवा जनशक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले उत्पादन वृद्धि, आधुनिक उद्योगधन्दा, चुस्त सेवा प्रवाह, गाउँमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सरकारका नीति जनमुखी हुनुपर्ने बताए। ‘हामीले विगतका कमजोरीबाट पाठ सिकेर अबको मार्गचित्र तय गर्नुपर्छ,’ उनले भने।

राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार क्रियाशील रहेको स्मरण गराउँदै सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउन स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। उनले भने, ‘संविधानको मर्मअनुसार जनअपेक्षाअनुसार काम गर्न स्थानीय सरकार अझ बढी सक्रिय हुनुपर्छ।’

राष्ट्रपति पौडेलले मुलुकको आर्थिक विकासका लागि पर्यटन, जलस्रोत र पूर्वाधारको विस्तार अपरिहार्य रहेको उल्लेख गरे। उनले सोलु क्षेत्रका जलविद्युत् आयोजना, सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सुदूर पहाडी क्षेत्रका यातायात विकास योजनाले देशको समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। ‘हिमाल आरोहण, पदयात्रा र साहसिक पर्यटनमार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको छ,’ उनले थपे।

राष्ट्रपति पौडेलले सोलुखुम्बुका विभिन्न दुर्गम ठाउँमा पैदल यात्रा गरेका स्मरण गर्दै सगरमाथा क्षेत्रको यातायात पूर्वाधारमा भएको सुधारप्रति खुसी व्यक्त गरे। उनले बहुदलीय लोकतन्त्रले नुन, तेल लिन भारी बोकेर हिँड्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गरेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई अझ संस्थागत गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ