काठमाडौं, ११ चैत। फागुन महिनामा नेपालमा कुल ४४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। यसबारे जानकारी दिने क्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको बताए। बैंकिङ कसुरका मुद्दा ११२७ (२५.२२ प्रतिशत) रहेका छन्, जसमा चेक बाउन्सका मुद्दा प्रमुख रहेका छन्।
आचार्यले सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिको विकाससँगै विभिन्न किसिमका अपराधका घटनाहरू बढ्दै गएको बताएका छन्। विशेषगरी, काठमाडौं उपत्यकामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्।
फागुन महिनामा दर्ता भएका अन्य प्रमुख आपराधिक घटनाहरूमा आत्महत्यासम्बन्धी ५०१ मुद्दा, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८ र ठगीसम्बन्धी १६२ मुद्दा रहेका छन्। सवारी ज्यानका १५४, ज्यान मार्ने उद्योगका ७१ र कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा पनि दर्ता भएका छन्।
विभिन्न प्रदेशहरूमा अपराधका घटनाहरूको वितरण यसप्रकार छ: काठमाडौं उपत्यकामा १३३७ मुद्दा, मधेश प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमती प्रदेशमा ३७६, सुदुरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा ३२३ र कर्णाली प्रदेशमा १६१ मुद्दा दर्ता भएका छन्।