काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स ले नयाँ वर्ष २०८२ का लागि आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली सहित उच्च व्यवस्थापन टोलीले संयुक्त रूपमा क्यालेन्डरको अनावरण गरे । क्यालेन्डरमा नेपालका महत्वपूर्ण चाडपर्व, सार्वजनिक बिदा, विशेष दिवस तथा पञ्चांग तिथि समावेश गरिएका छन् । यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मजबुत अवस्थासँगै आगामी दिनमा अझ नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक सेवालाई प्रभावकारी बनाउन विशेष योजनाहरू अघि बढाइने बताए । पराजुलीले नेपाल लाइफलाई देशकै सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, बीमा अभिकर्ता, संचालक समिति, कर्मचारी, शेयरधनी, नेपाल बीमा प्राधिकरण तथा अन्य नियामक निकायहरूप्रति आभार प्रकट गरे । साथै, उनले कम्पनी अझ मजबुत बनाउँदै ग्राहकहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै बीमा क्षेत्रको डिजिटल रुपान्तरणमा अग्रसर हुने बताएको छ । ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै कम्पनीले आधुनिक प्रविधि समाहित नयाँ योजना ल्याउने तयारी गरिरहेको जानकारी दिइएको छ ।