काठमाडौं । नेपाली कांग्रेसले गणतान्त्रिक मोर्चा गठन गर्नुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारेको छ । पार्टीको कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले हालको संविधानलाई नै गणतन्त्रको आधार मान्दै छुट्टै मोर्चा आवश्यक नरहेको बताए । प्रवक्ता महतका अनुसार संविधान निर्माणका क्रममा सबै दलहरूको सहभागिता रहेको र पछिल्ला राजनीतिक दलहरूले पनि संविधानप्रति प्रतिबद्धता जनाइसकेको अवस्थामा गणतान्त्रिक मोर्चाको औचित्य नरहेको कांग्रेसको धारणा छ । “सरकारमा बसेका तथा प्रतिपक्षी दलहरू सबैले नै संविधानप्रति प्रतिवद्धता जनाइसकेका छन्, त्यसका लागि अलग मोर्चा गठन गर्नु आवश्यक छैन,” महतले भने । बैठकमा नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो अडान दोहोर्याउँदै संविधानमार्फत नै जनअपेक्षा पूरा गर्न सकिने विश्वास व्यक्त गरेको छ । संविधानको रक्षा गर्दै सरकारलाई प्रभावकारी ढंगले काम गर्न प्रेरित गर्नु नै कांग्रेसको भूमिका रहने प्रवक्ता महतले स्पष्ट पारे । विभिन्न दलहरूले विरोध प्रदर्शन गरिरहे पनि नेपाली कांग्रेस तत्काल सडक आन्दोलनमा उत्रन आवश्यक नभएको निष्कर्षमा पुगेको छ । “संविधानप्रति समग्र जनता उभिएका छन्, त्यसैले कांग्रेस अहिले सडक प्रदर्शनमा जाने पक्षमा छैन,” महतले भने । तर, उनले सरकारलाई प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकतामा पार्टीले जोड दिइरहेको पनि बताए ।