काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको नेतृत्व भागिरथ सापकोटाले सम्हाल्ने भएका छन् । महासंघको तेस्रो महाधिवेशनले सर्वसम्मत रूपमा सापकोटालाई अध्यक्षमा चयन गरेको हो । नयाँ नेतृत्वसँगै महासंघले व्यवसायीहरूको समस्या समाधानमा केन्द्रीत रहने प्रतिबद्धता जनाएको छ ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । दुई दिनसम्म चलेको यस अधिवेशनमा महासंघको नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्ष पदमा खुलातर्फ सुवर्ण श्रेष्ठ तथा महिलातर्फ शोभा गुरुङ चयन भएका छन् । महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा डिमप्रसाद पौडेल, र सचिवहरूमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल, तथा सरोज यादव चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले देशभरका उद्योग तथा व्यवसायीहरूको हकहितका लागि महासंघलाई सशक्त रूपमा अघि बढाउने बताएका छन् । उनले विशेष रूपमा साना तथा मझौला उद्योगीहरूको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्दै प्रभावकारी नीति निर्माणमा जोड दिने बताए ।
सापकोटाले हाल नेपालको व्यावसायिक क्षेत्र गम्भीर आर्थिक चुनौतीहरूबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले ‘इन्टरप्राइजेज अक्सिजन कार्यक्रम’ जस्ता ठोस नीति ल्याउनुपर्नेमा जोड दिए । “कोरोना महामारी, रुस-युक्रेन युद्धजस्ता विश्वव्यापी प्रभावले नेपालका व्यवसायीहरूलाई गहिरो मारमा पारेका छन् । अहिलेको अवस्था सुधार्न सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक छ,” सापकोटाले भने ।