+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

शंकरदेवमा निर्वाचन अनिश्चित, विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय

जनवाच
१ महिना अगाडी

काठमाडौं । शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बन्दै गएको छ। विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै चुनाव अवरुद्ध पारेपछि विद्यार्थीहरू असमञ्जसमा परेका छन्।

स्ववियु सचिव मदनराज उपाध्याय ले क्याम्पसमा तालाबन्दी होइन, स्ववियु निर्वाचन आवश्यक रहेको बताउँदै चुनावविरोधी गतिविधिप्रति असन्तोष व्यक्त गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुने तय भएको थियो। तर, विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गरेपछि प्रक्रिया अवरुद्ध भएको उपाध्यायको भनाइ छ।

“लोकतन्त्रको मूल आधार निर्वाचन हो। विद्यार्थीका समस्या समाधान गर्न सक्षम नेतृत्व चयन गर्ने अवसर खोस्न पाइँदैन। क्याम्पस प्रशासन र निर्वाचन समितिको मौनताले विद्यार्थीहरू अन्योलमा परेका छन्,” उनले भने।

स्ववियु सचिव उपाध्यायका अनुसार केही समूहहरू हारको भयले निर्वाचन स्थगित गर्ने रणनीतिमा लागेका छन्। उनले निर्वाचनलाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन्।

“क्याम्पस प्रशासनले तत्काल सहमति, समन्वय र सहकार्यको वातावरण तयार पार्नुपर्छ। यदि हालको निर्वाचन समिति अक्षम छ भने नयाँ समिति गठन गरी प्रक्रिया अघि बढाउनुपर्छ,” उपाध्यायले जोड दिए।

उपाध्यायले स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसहरूमा पनि अविलम्ब निर्वाचन गराउन माग गरेका छन्। तालाबन्दीले शिक्षा वातावरण विथोल्ने खतरा रहेको बताउँदै उनले निर्वाचन लोकतान्त्रिक अधिकार भएकाले कुनै पनि बाहानामा रोक्न नहुने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ