काठमाडौं, ८ चैत । संघीय संसदका तीन महत्वपूर्ण समितिहरू आज सक्रिय हुँदैछन्। सिंहदरवारस्थित समितिका कार्यालयहरूमा बस्ने यी बैठकहरूमा विभिन्न विधेयक, कानुनी परिमार्जन, शिक्षा सुधार र सार्वजनिक उजुरीसम्बन्धी विषयमा गम्भीर छलफल हुने भएको छ।
अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफल गर्ने कार्यसूची तय भएको छ। बैठक बिहान ११ बजे सुरू हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा तीन प्रमुख विषयमा छलफल हुनेछ। समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी उपसमिति गठन, साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल गरिनेछ।
सार्वजनिक लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्वजनिक गरिसकेको थियो। आजको बैठकमा ती उजुरीमाथि छलफल हुने बताइएको छ।