काठमाडौं, ७ चैत । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ। “गोलोबोसो, बचत गर, सुरक्षित भविष्य बनाऊ” भन्ने नाराका साथ बैंकले सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो।
डिजिटल वित्तीय सेवाहरूको प्रयोग तीव्र रूपमा वृद्धि भैरहेको वर्तमान समयमा, सही वित्तीय निर्णय लिनु आम नागरिक, विशेषगरी युवाहरूका लागि चुनौतीपूर्ण बन्दै गएको छ। यही परिप्रेक्ष्यमा, कुमारी बैंकले सर्वसाधारणलाई वित्तीय जानकारी प्रदान गर्न, जिम्मेवार वित्तीय निर्णयमा सघाउन तथा दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा सहभागीहरूलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, ऋणको व्यवस्थापन, बचतका महत्त्व तथा वित्तीय योजना निर्माणबारे विस्तृत जानकारी दिइँदैछ। यस अभियानबाट युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन, विवेकशील वित्तीय निर्णय लिन तथा समग्र वित्तीय स्थायित्व कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२३ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सहज, आधुनिक तथा प्रविधिमैत्री सेवा दिँदै आएको छ। आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै उत्कृष्ट वित्तीय सेवा प्रवाह गर्ने बैंकको प्रतिबद्धता छ।