काठमाडौं, ७ चैत । हमासद्वारा अपहृत नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेचेप तैय्यिप एर्दोआनसँग टेलिफोन वार्ता गरेका छन् ।
बालुवाटारबाट गरिएको संवादमा प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइका लागि टर्की सरकारको थप कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै, मानवीय आधारमा सक्दो प्रयास गरिदिन आग्रह गरे । जवाफमा राष्ट्रपति एर्दोआनले यस विषयलाई गम्भीरतापूर्वक लिइने र आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले विपिनको अवस्थाबारे परिवार र नेपाली समुदायलाई जानकारी दिने आश्वासन पनि दिए ।
यसअघि गत फागुन २७ गते प्रधानमन्त्री ओलीले जोशीको रिहाइका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सीसीसँग समेत टेलिफोन संवाद गरेका थिए ।
वार्ताका क्रममा ओली र एर्दोआनबीच नेपाल–टर्की सम्बन्ध विस्तार, आर्थिक सहकार्य तथा विज्ञान–प्रविधि क्षेत्रमा सहकार्यको सम्भावना बारे पनि छलफल भएको थियो । साथै, आगामी अप्रिलमा टर्कीमा आयोजना हुने कूटनीतिक सम्मेलनका लागि ओलीलाई गरिएको औपचारिक निमन्त्रणा पुनः स्मरण गराइयो ।