+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अमेरिकामा नेपाली समुदायका मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध: मन्त्री दाहाल

जनवाच
१ महिना अगाडी

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अमेरिकामा रहेका नेपाली समुदायका आवश्यकता तथा सरोकारहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। हालै अमेरिकाको टेक्सास राज्यमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री दाहालले प्रवासमा रहेका नेपालीहरूलाई निराश नहुन आग्रह गरे।

नेपाल सरकारद्वारा अमेरिका सरकारले अनुमति दिएलगत्तै टेक्सासमा नेपाली महावाणिज्य दूतावास स्थापनाको प्रक्रिया अघि बढ्ने उनले जानकारी गराए। अमेरिका मै बसोबास गर्ने नेपालीहरूका लागि लामो समयदेखि महावाणिज्य दूतावास आवश्यक रहेको आवाज उठ्दै आएको थियो।

कार्यक्रममा मन्त्री दाहालले नेपालको लोकतान्त्रिक व्यवस्था र गणतन्त्रको उपलब्धि सम्झाउँदै पछिल्लो समय भइरहेको भ्रामक प्रचारमा नफस्न आग्रह गरे। उनले गणतन्त्रले सबै वर्ग, क्षेत्र, जातजाति र समुदायको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै, मुलुकमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको धारणा व्यक्त गरे।

नेपाली समुदायसँगको अन्तरक्रियाका क्रममा गैरआवासीय नेपालीहरूलाई १० वर्षको भिसा दिने निर्णयलाई हाल उपयुक्त मानिएको तर भविष्यमा नागरिकताको सम्बन्धमा उचित नीतिगत निर्णय गरिने बताए।

टेक्सासस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाहरू—एनआरएनए टेक्सास, प्रवासी नेपाली मञ्च, नेपाली जनसम्पर्क मञ्च, पानस अमेरिका लगायतले नेपाल सरकारसमक्ष आफ्ना सरोकार र मागहरू राखेका थिए।

मन्त्री दाहाल अमेरिकामा बस्ने नेपालीहरूसँग अन्तरक्रिया गर्दै नेपाल-अमेरिका सम्बन्ध, व्यापारिक सम्भावना तथा दूतावाससम्बन्धी विषयमा समेत छलफल गरे। उनले नेपाली समुदायका मागहरूलाई सरकारले गम्भीर रूपमा लिने प्रतिबद्धता जनाए। यातायातसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका गएका मन्त्री दाहाल आज स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ