काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते मतदान हुने तय गरिएको छ। तर निर्वाचनको प्रक्रिया चलिरहेका बेला केही क्याम्पसमा असहज परिस्थिति देखिएको छ।
विशेषगरी, स्ववियु निर्वाचनले विद्यार्थी राजनीति र क्याम्पसको भविष्यलाई दिशा दिने विश्वास गरिन्छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु चयन गरिँदैछ, जसमा ११ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने १० जना समानुपातिक प्रणालीबाट चयन गरिनेछन्। छ हजार एक सय ४६ मतदाता रहेको क्याम्पसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि ती पदहरूमा चयन गरिनेछ। बहुमत प्राप्त सङ्गठनबाट नै उपाध्यक्ष र उपसचिव चयन हुने, अन्यथा सहमतिबाट वा मतदान प्रक्रियाबाट टुंगो लगाइने व्यवस्था गरिएको छ।
यस पटकको निर्वाचनमा विश्वविद्यालय क्याम्पसमा आधुनिक प्रविधि अपनाइएको छ। २० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिनेछ। निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने बताइएको छ।
तर, निर्वाचनको पूर्वसन्ध्यामा केही क्याम्पसमा विवाद र असहमतिले स्थान लिएको छ। चर्चित आरआर क्याम्पसमा अनेरास्ववियुले सोमबार मध्यराति तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले नक्कली परिचयपत्र वितरण गरेको भन्दै विरोध गरिएको हो। निष्पक्ष छानबिनको माग गर्दै तालाबन्दी गरिएको सङ्गठनले जनाएको छ।
यस्तै, अमृत साइन्स क्याम्पसमा भने सुरक्षा कारण देखाउँदै निर्वाचन स्थगित गरिएको छ। क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना जारी गर्दै केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन हाललाई रोकिएको उल्लेख गरेका छन्।