काठमाडौं । नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीलाई अवसर दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्विपक्षीय सम्झौताको तयारी थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा. चोपलाल भुषाल संयोजक रहेको सात सदस्यीय समिति गठन गर्दै नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क राष्ट्रका विद्यार्थीलाई अवसर दिने वातावरण निर्माण गर्न निर्देशन दिएका छन्।
मन्त्री पौडेलले इण्डोनेसियामा आयोजित क्षेत्रीय स्वास्थ्य सम्मेलनका क्रममा माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलसँग विद्यार्थी आदान–प्रदानबारे छलफल गरेका थिए। माल्दिभ्सले नेपालमा अध्ययनका लागि विद्यार्थी पठाउने इच्छाशक्ति देखाएपछि नेपाल मेडिकल काउन्सिलले यसबारे विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाएको थियो।
यसै आधारमा नेपाल र माल्दिभ्सबीच चिकित्सा शिक्षा मान्यता तथा प्रवर्द्धनका लागि द्विपक्षीय सम्झौता गर्ने तयारी अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार प्रस्तावित सम्झौता दुवै देशका चिकित्सा शिक्षा मापदण्ड अध्ययन गर्दै पारस्परिक मान्यता सुनिश्चित गर्ने खालको हुनेछ।
समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्य सचिवसमेत रहेका छन्।
समितिलाई नेपाल र माल्दिभ्सको चिकित्सा शिक्षा प्रणाली, मापदण्ड, मान्यता र आवश्यक सुधारबारे विस्तृत अध्ययन गरी सम्झौताको आधार तय गर्ने जिम्मेवारी दिइएको छ। यदि सम्झौता सम्पन्न भएमा नेपालमा अध्ययन गर्ने सार्क राष्ट्रका विद्यार्थीहरूको संख्या थप वृद्धि हुने विश्वास गरिएको छ।