काठमाडौं । नेपाल स्काउट सुधार अभियानले संगठनभित्र भइरहेको अनियमितता, प्रशासनिक कमजोरी तथा दुर्व्यवहारका घटनाहरूको छानबिनको माग राख्दै अनशन थालेको छ। अभियानका संयोजक देवदुत अधिकारीको नेतृत्वमा विभिन्न प्रदेशका स्काउटरहरूको उपस्थितिमा नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय, काठमाडौंमा अनशन सुरू गरिएको हो।
संयोजक अधिकारीले अनशनको औपचारिक सुरुवात गर्दै संगठनभित्र पारदर्शिता, सुशासन र लोकतान्त्रिक प्रक्रिया कायम गर्न चारसूत्रीय माग अघि सारेका छन्। हालै लागू गरिएको कर्मचारी प्रशासन नियमावली २०८१ को केही प्रावधानले कर्मचारीहरूको मनोबल गिराउने भन्दै उनले राष्ट्रिय परिषद्मार्फत पुनरावलोकन गरी संशोधन गर्नुपर्ने माग राखेका छन्। विशेष गरी प्रसूति बिदाजस्ता आधारभूत सुविधा कटौती गर्नु अस्वीकार्य रहेको उनको भनाइ छ।

नेपाल स्काउट सुधार अभियानका सदस्यहरूले संगठनका निर्देशक राम प्रसाद भट्टराईमाथि लागेको अनियमितता र दुर्व्यवहार सम्बन्धी १० बुँदे उजुरीको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। साथै, भट्टराईमाथि उठेका गम्भीर आरोपहरूको अनुसन्धान गरी दोषी ठहरे कडा कारबाही गर्नुपर्ने मागसमेत राखिएको छ। छानबिन प्रक्रिया नसकिएसम्म भट्टराईलाई निलम्बन गर्नुपर्ने तथा अनुसन्धान प्रतिवेदनका आधारमा मात्र थप निर्णय लिनुपर्ने अभियानकर्ताहरूको अडान छ।
अनशनमा बागमती प्रदेशका स्काउटर अनुज प्रधान, पवन गुरुङ तथा मधेस प्रदेशका सहायक राष्ट्रिय प्रशिक्षक अब्दुल सलाम मिया सहभागी छन्। सुधार अभियानका सक्रिय सदस्य सञ्जय खड्गीले संगठनभित्र सुधारका लागि संघर्ष अपरिहार्य रहेको बताए।

अभियानका प्रवक्ता आशिक कार्कीले आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण स्काउटरहरूको समर्थन आवश्यक रहेको भन्दै ऐक्यबद्धता जनाउने सबैलाई धन्यवाद दिए। अभियानका अगुवा विदुर गिरिले संगठन सुधारका लागि निरन्तर दबाब आवश्यक रहेको उल्लेख गर्दै आगामी चैत्र ३ गते थप सशक्त आन्दोलनको तयारी भइरहेको जानकारी गराए। उनले सुधारको पक्षमा सबै स्काउटरहरू एकजुट हुनुपर्नेमा जोड दिँदै संगठनभित्र सुधार नआएसम्म आन्दोलन जारी रहने प्रतिबद्धता जनाए।