+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

रङ्ग, उल्लास र परम्पराको समिश्रण: आज फागु पूर्णिमा मनाइँदै

जनवाच
१ महिना अगाडी

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात् फागु पूर्णिमा। नेपालमा आज पहाडी जिल्लाहरूमा होली हर्षोल्लासका साथ मनाइँदैछ भने भोलि तराई-मधेशका जिल्लामा यो पर्व मनाइनेछ। असत्यमाथि सत्यको विजय, पारिवारिक एवं सामाजिक एकताको प्रतिकको रूपमा यो पर्व उल्लासका साथ मनाइन्छ।

परम्पराअनुसार, काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा गाडिएको चीरलाई आज विशेष विधिपूर्वक ढाली टुँडिखेलमा लगी दहन गरिन्छ। उक्त चीरमा टाँगिएका ध्वजापताका शुभ मानिएर लुछाचुँडी गरिन्छ भने चीरको खरानी टिका लगाउँदा अनिष्ट टर्छ भन्ने विश्वास रहिआएको छ।

फागु पर्वको उत्पत्तिसँग विभिन्न धार्मिक कथाहरू जोडिएका छन्। त्रेतायुगमा भक्त प्रह्लादलाई मार्न खोज्दा हिरण्यकश्यपकी बहिनी होलिका आफैं जलेको घटनालाई विजयको प्रतीक मानी होली खेल्ने परम्परा बसेको हो। द्वापरयुगमा, कंशद्वारा पठाइएकी पुतनालाई श्रीकृष्णले मार्नुभएको कथा पनि यो पर्वसँग जोडिएको छ।

रङ्गहरूको वैज्ञानिक एवं आयुर्वेदिक महत्व पनि छ। राम्रो रङ्ग तथा अबिरले छालाका विभिन्न रोग हटाउने विश्वास छ भने चीर दहनको धुवाँले वातावरणका कीटाणु नष्ट गर्ने मान्यता रहेको छ। शीतकालपछि शरीरमा जम्मा भएका कफको नाश गर्न फागु पर्व लाभदायक मानिन्छ।

आज पहाडी जिल्लाहरूमा होली मनाइँदैछ भने भोलि तराई-मधेशमा होली खेल्ने तयारी छ। परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको यस पर्वमा काठमाडौं, पोखरा, चितवन जस्ता सहरहरू विशेष रूपमा रंगीचंगी हुने गर्छन्। फागु पर्वको रौनक बढ्दै जाओस्, सबैलाई शुभकामना!

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ