काठमाडौँ – काठमाडौँ महानगरपालिकाले लैङ्गिकमैत्री सहर निर्माणका लागि नीति, कानुन, बजेट र कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलका अनुसार, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर विशेष कार्यक्रमहरू अघि बढाइएका छन्।
उपप्रमुख डंगोलले महिला सञ्जालको स्थापना, विपन्न वर्गका लागि निःशुल्क कानुनी सेवा, महिला उद्यमशीलता विकास, तथा लैङ्गिक हिंसा न्यूनीकरण जस्ता कार्यक्रमहरूलाई महानगरले नीति तथा बजेटमा समेटेको बताइन्।
एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) की संस्थापक अध्यक्ष एआइ सासाकीसँगको भेटमा उनले, महिला नेतृत्व विकासलाई प्राथमिकतासहित, तल्लो तहसम्म कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको बताइन्। महिलाको हक स्थापित गर्न महानगरले स्थानीय कानुन तर्जुमा गरी कार्यान्वयनको चरणमा पुर्याएको जानकारी दिइन्।
छलफलका क्रममा अध्यक्ष सासाकीले काठमाडौँ महानगरले थालेका प्रयासहरू दक्षिण एशियाली मुलुकका लागि प्रेरणादायी रहेको बताउँदै, महिला नेतृत्व विकासका लागि महानगरको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन्। उनले सन् २०३० सम्म १ हजार महिला नेतृ तयार गर्ने फोरमको लक्ष्य रहेको जानकारी दिँदै, विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा डंगोललाई निमन्त्रणा गर्ने प्रस्ताव पनि राखिन्।